ताप्लेजुङ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने दिन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले टिप्ताला भन्ज्याङ नाका सञ्चालनका विषयमा स्मरण गराएका छन् ।टिप्ताला भन्ज्याङ नाका सञ्चालनबारे परराष्ट्रमन्त्री श्रेष्ठको ध्यानाकर्षण आफू काठमाडौं पुग्न नसकेकाले गाउँ कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मिङमा डण्डु शेर्पामार्फत उनले टिप्ताला नाका सञ्चालनसम्बन्धी ध्यानाकर्षणपत्र बुझाएका हुन् ।चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द भएको यो नाका अहिलेसम्म खुलेको छैन । नाका नखुल्दा माइतीघर जान नपाएका चेली र गलैंचा, छुर्पी लगायतका सामग्री निर्यात गर्न नपाएका स्थानीय पटकरपटक नाका खोल्न माग गरिरहेका छन् । वडाध्यक्ष लामाले सडक सञ्जालले जोडिएकाले बाह्रै महिना चल्ने गरी सम्झौता गरिदिन पत्रमार्फत अनुरोध गरेका छन् ।चीनले ताप्लेजुङसहित डोल्पा, मुगु, गोरखा, दोलखा र बझाङका नाकालाई अस्थायी नाकाको रुपमा राखेको छ । यी नाका मे देखि अक्टोबरसम्म मात्रै चल्छ भन्ने बुझाई रहेको छ । मौसम परिवर्तनका कारण केही वर्षदेखि हिउँ पर्ने सिजन बदलिएको र मोटरबाटोले जोडिएपछि हिउँ पर्दा पनि पन्छाएर आउजाउ गर्न सकिने भएकाले बाह्रै महिना चल्ने बनाउनु पर्ने वडाअध्यक्ष लामाको जिकिर छ । ‘पहिला पैदलमार्ग मात्रै थियो, त्यही अनुसारको तालिका थियो,’ छेतेनले भने, ‘अहिले गाडी बाटोले जोडिएकाले पहिलाको तालिका फेर्नु पर्छ र सरकारले त्यो विषयमा चीनलाई बुझाउनु पर्छ भन्ने हाम्रो अनुरोध हो ।’पहिलो अनुरोध नाका खोलिदिनुहोस् भन्ने र दोस्रो बाह्रै महिना चल्ने गरीको बनाइदिनुहोस् भन्ने आफ्नो माग रहेको वडाध्यक्ष छेतेन बताउँछन् ।मिङमा डण्डुले आफूले परराष्ट्रमन्त्रीसमक्ष वडाको पत्र पुर्याएको बताए । उहाँ ९परराष्ट्रमन्त्री० ले नेपालस्थित चिनियाँ दूतावासबाट पनि पहल भइरहेको र चीनमा पनि कुरा गर्ने आश्वासन दिएको डण्डुले बताए ।साभार कान्तिपुर अनलाईन बाट
टिप्ताला भन्ज्याङ नाका सञ्चालनबारे परराष्ट्रमन्त्री श्रेष्ठको ध्यानाकर्षण








