काठमाडौं – शुक्रबारबाट टिकटक सुचारु भएको छ । मन्त्रि परिषद्को निर्णय अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको प्रतिबन्ध हटाएको छ । गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाइएको थियो । त्यही निर्णयअनुसार अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणले निर्देशन जारी गरेको छ । २०८० कात्तिक २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यता सरकारले पनि टिकटक कम्पनीले केही सर्तमा प्रतिबद्धता जनाएपछि खुला गरिएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि नेपाल सरकारसँग सम्पर्कमा रहेको टिकटकको सञ्चालक कम्पनीले समाजका मर्यादा तथा सुरक्षा चासोलाई सम्बोधन गर्ने र त्यहीअनुसार टिकटकलाई सुधार गर्ने प्रतिबद्धता गरेपछि मन्त्रिपरिषद्द्वारा निर्णय गरी टिकटक खुला गरिएको जनाएको छ ।
सरकारले प्रतिबन्ध लगाएको टिकटक पूर्ण रूपमा खुल्यो,








