ताप्लेजुङ, साउन १८ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले आफुले पाउने मासिक पारिश्रमिकलाई अभिभावक विहिन बालबालिका प्रति सर्मपित गर्नु भएको छ । पालिका अध्यक्ष लिम्बूका अनुसार फक्ताङलुङ डेभपलमेन्ट फाउण्डेसनमार्फत अभिभावकविहिन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकताको परिपूर्ति गर्न नियमित रुपमा खर्च गर्ने गरिएको छ । अघिल्लो बर्षको रकमको केहि रकमबाट अभिभावकविहिन राम लिम्बूको शिक्षा, आवास तथा खाना खर्चसहितको व्यवस्थापन गरिएको थियो । ति बिद्यार्थी पछि फेरि बिद्यालयमा पढ्नका लागि नआएपछि यसबर्षबाट नयाँ सोच अघि सारिएको छ । यसबर्ष अपाङ्गता भएका, अभिभावकविहिन, असाहाय तथा अति विपन्न बिद्यार्थीको शिक्षाका लागि आफुले प्राप्त गर्ने मासिक सुविधा फक्ताङलुङ डेभपलमेन्ट फाउण्डेसनमार्फत खर्च गर्ने योजना रहेको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार आफुले प्राप्त गर्ने मासिक ४३ हजार रुपैयाँका दरले उक्त रकम फक्ताङलुङ डेभपलमेन्ट फाउण्डेसनमा जम्मा हुने गरेको छ । यसबर्ष पालिका भरीका अपाङ्गता भएका, अभिभावकविहिन, असाहाय तथा अति विपन्न बिद्यार्थीको शिक्षा सहजताका लागि खर्च गर्ने प्रारम्भिक योजना बनेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिका अध्यक्ष भईकन लिम्बूले मासिक सुविधा लिनु भएको छैन । उहाँले मासिक सुविधा पालिकाका नागरिकको हितकारी कार्यका लागि खर्च गर्ने घोषणा गर्नु भएको थियो । आर्थिक अभावके कारण शिक्षा प्राप्त गर्ने हकबाट बञ्चित हुनु नपरोस् भनेर मैले आफुले प्राप्त गर्ने मासिक सुविधा अति विपन्न परिवारका सदस्यको शिक्षाका लागि सर्मपण गरेको हुँ लिम्बूले भन्नुभयो । पालिकाका सूचना अधिकारी जय रिजालले पालिका अध्यक्ष लिम्बूले पाउने मासिक पारिश्रमिक सोझे फक्ताङलुङ डेभपलमेन्ट फाउण्डेसनको बैंक खातामा जम्मा हुने गरेको जानकारी दिनुभयो पालिका अध्यक्ष लिम्बूले केहि समय पछि पत्रकार सम्मेलनमार्फत फाउण्डेसनको खाताको जम्मा भएको रकम र खर्च विवरण तथा लाभग्राहीको सूची सार्वजनिक गर्ने घोषणा समेत गर्नु भएको छ । शिक्षा प्राप्त गर्नु बालबालिकाको अधिकारको रुपमा रहेको उल्लेख गर्दै उहाँले अभिभावकविहिन र पढ्ने नसक्ने अवस्थाका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आवास तथा खाना सहितको प्रवन्ध गर्न आफु तयार रहेको समेत जानकारी दिनुभयो । ’सेवाभाव भन्दा ठूलो कुरा सेवा सुविधा होईन भन्ने मनन गरेर मैले आफुले पाउने पारिश्रमिक आफुले नलिई सामाजिक हितमा प्रयोग गर्ने निर्णय गरेको हुँ पालिका अध्यक्ष लिम्बूले भन्नुभयो ’निर्णय अनुसार कार्यान्वयन पनि भइरहेको छ’। – खगेन्द्र अधिकारी,
गाउँपालिका अध्यक्षद्धारा पारिश्रमिकलाई अभिभावक विहिन बालबालिका प्रति सर्मपित,








