फुङ्लिङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाथीभरा क्याम्पस कमिटीले स्नातक तहको ४० प्रतिशत शुल्कमा वृद्धि गरिएको निर्णय तत्काल फिर्ता गरी शुल्क यथावत् राख्न माग गरेको छ । आज क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियुले सञ्चालक समितिको गत जेठ ५ गतेको निर्णयले बिद्यार्थीहरूसँग कुनै छलफल र सहमति नगरी तथा उपयुक्त कारण नदेखाई शुक्ल बृद्धि गरेको बताएको छ । हाल मासिक शुल्क ५०० रुपैयाँ छ, ४० प्रतिशत बृद्धि गरेर ७०० रुपैयाँ पुर्याएको अनेरास्ववियुको भनाई छ । यस्तै हाल कायम रहेको प्रति पिरियड ४० मिनेटको समयलाई ६० मिनेट बनाउँदै क्याम्पसलाई दिवाको १२ बजेसम्म सञ्चालन गर्ने निर्णय शैक्षिक दृष्टिले केही लाभदायक देखिए पनि व्यवहारिक रूपमा उपयुक्त नभएकाले पुनः समय तालिका मिलान गरिनुपर्ने माग राखेको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुले प्राविधिमैत्री तथा गुणस्तरीय शिक्षाको विकासका लागि सञ्चालक समितिले सम्बन्धित निकायहरूसँग आवश्यक पहल तथा समन्वय गर्नुपर्न पनि ज्ञापन पत्रमा समाबेश छ । प्राध्यापक तथा अध्यापकहरूले निर्धारण गरिएको दैनिक अध्यापन समयावधिअनुसार पूर्ण रूपमा अध्यापन गराउने सुनिश्चितता क्याम्पस प्रशासनले प्रभावकारी रूपमा नियमन गर्नुपर्ने तथा पुस्तकालयमा विभिन्न संकायका आवश्यक पुस्तकहरूको अभाव भएकाले पर्याप्त मात्रामा पुस्तक उपलब्ध गराइनुपर्ने माग गरेको छ । विभिन्न तहका परीक्षाहरू सञ्चालन गर्दा नियमित पठनपाठनमा अवरोध पुग्ने समस्या देखिएको हुँदा, कक्षाहरू प्रभावित नहुने गरी उचित व्यवस्थापन गरिनुपर्ने माग गरिएको छ । माग गरिएका सम्पूर्ण विषयहरू सम्पूर्ण विद्यार्थीहरूको साझा मुद्दा र साझा आवाज भएकाले क्याम्पस प्रशासनले गम्भीरतापूर्वक ध्यान दिई यथाशीघ्र सम्बोधन गर्ने अपेक्षा अनेरास्ववियुको रहेको अध्यक्ष पौडेलेको भनाई छ । साथै, मागहरूको कार्यान्वयनमार्फत क्याम्पसको शैक्षिक वातावरण अझ प्रभावकारी, व्यवस्थित र विद्यार्थीमैत्री बन्ने विश्वास समेत लिइएको बताएको छ ।–बिक्रम लाम्गादे,
स्नातक तहको ४० प्रतिशत शुल्क वृद्धि गर्ने सञ्चालक समितिको निर्णय फिर्ता लिन अनेरास्ववियुको माग








