समय : ०९:२० pm | आइतबार , भाद्र २८ गते २०८३

नाका खुल्ने प्रतीक्षामा स्थानीय

सेवालुङ खवर | जेठ १३ गते २०८३

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), जेठ १३ गते । भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१, छाङरु र तिङ्करका स्थानीय चीनको ताक्लाकोट जान तिङ्कर नाका खुल्ने प्रतीक्षामा छन् । सदियौँदेखि यहाँको छाङरु र तिङ्कर गाउँमा बसोबास गर्ने सौका समुदाय चीनस्थित ताक्लाकोट बजारमा व्यापारका लागि जाने गर्छन्  । तिङ्कर नाका आधिकारिक नाकाका रूपमा नभए पनि लामो समयदेखि यहाँका स्थानीय (सौका समुदाय) ले ताक्लाकोटको स्थानीय सरकारसँगको समन्वयमा यो नाकामार्फत आवतजावत गर्दै आएका छन् । विगतका वर्षमा जस्तै यस वर्ष पनि ताक्लाकोटस्थित स्थानीय सरकार, परराष्ट्र मन्त्रालयका प्रतिनिधिसँग व्यापारीहरूका लागि नाका सञ्चालनका विषयमा आग्रह गरिएको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीन हिमालय मैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहोराले जानकारी दिनुभयो । तिङ्कर नाका चाँडै खोल्ने आश्वासन पाएको उहाँले बताउनुभयो । नाका खुलेपछि स्थानीय व्यापारी व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन् । उहाँले भन्नुभयो, “ताक्लाकोटमा केहप् महिना खाद्य सामग्री र लुगाकपडाको व्यापार गर्छौं, सोही व्यापारबाट आम्दानी भएको पैसाले जीविका चलाउँछौँ ।” ताक्लाकोटमा दार्चुलाका स्थानीयले ३२ वटा पसल र चार वटा होटेल सञ्चालन गरेको उहाँले बताउनुभयो । गत वर्ष साउन ७ देखि ९ सम्म दुई दिनका लागि तिङ्कर नाका खुलेको थियो । नेपाल–चीन तिङ्कर नाका खुल्नेबारे स्थानीय प्रशासनलाई कुनै जानकारी नआएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिनुभयो । “उहाँले भन्नुभयो, “नाका खुल्नेबारे स्थानीय प्रशासनलाई आधिकारिक जानकारी प्राप्त भएको छैन ।” विगतदेखि नै छाङरु र तिङ्करका ७० देखि ८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्ने व्यापारी बोहोराले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार चीनको ताक्लाकोट जानका लागि यस वर्ष व्यास गाउँपालिकाका २१२ जनाले प्रवेश अनुमतिपत्र लिएका छन् । तीमध्ये १५२ जनाले अनुमतिपत्र नवीकरण गराएका छन् भने ६० जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभयो । चीनले सापु भन्ने ठाउँमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरेर कच्ची सडक पु¥याएको छ । चीनतर्फ सापुमा सुरक्षाकर्मीको चेकपोस्ट छ भने नेपालतर्फ व्यास गाउँपालिका–१, तिङ्करगाउँको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चौकी सञ्चालनमा छ । कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका आब २०८०÷८१ देखि व्यापारीको आवतजावतका लागि मात्रै खुल्दै आएको छ ।गोरखापत्र अनलाइन 

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्