ताप्लेजुङ, फागुन २७। ताप्लेजुङमा बाँदरलाई अमानवीय व्यवहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पाथीभरा याङ्वरक–२ थेचम्बूका २१ वर्षीय युवक संगम भनिने छुप्पु हेम्ब्यालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक जटाशंकर यादबका अनुसार हेम्ब्या पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भई हाल ताप्लेजुङको थेचम्बू ससुरालीमा बसोबास गर्दै आइरहेका थिए । हेम्ब्यालाई थेचम्बूको माङ्जाबुङ भन्ने स्थानमा करिब आधा दर्जनभन्दा बढी बाँदरलाई हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनले पटक–पटक बाँदरलाई अमानवीय ढङ्गले कुटपिट गरेर मारेको स्थानीयको भनाइ छ । बाँदरलाई कुटपिट तथा घरपालुवा जनावर कुकुरलाई टोकाएर मारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको विषयमा प्रहरीले चासो दिएको थियो । प्रहरीले हेम्ब्यालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको कार्यलाई जारी राखेको प्रहरी निरीक्षक शंकरले जानकारी दिए । आहाराको अभावका कारण पछिल्ला समय बाँदरहरू बस्तीमा पस्ने क्रम बढिरहेको छ । जङ्गलको विनाश हुने क्रम बढेकाले आहारको कमी भएपछि बाँदर बस्तीमा प्रवेश गर्न थालेको स्थानीयको भनाइ छ ।-पुर्वा अञ्चल दैनिकमा प्रकाशित,
ताप्लेजुङमा बाँदरलाई हत्या गरेको अभियोगमा एक युवक पक्राउ,








