समय : ११:३० pm | आइतबार , भाद्र २८ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन लागि ताप्लेजुङमा रोचक प्रतिस्पर्धा हुने,

सेवालुङ खवर | माघ २५ गते २०८२

ताप्लेजुङ – प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कुल ९० हजार ३ सय २७ मतदाता संख्या रहेको ताप्लेजुङमा बिभिन्न दलका गरी १३ जना उम्मेद्धार चुनावी मैदानमा रहेका छन् । निर्वाचनको मिति नजिकिए संगै उम्मेद्धारहरु यतिबेला मतदाता रिझाउन व्यस्त छन् । यति सम्म की किसानले बारी जोतिरहेको ठाउँमा गएर हलो जोत्नेदेखि पसलमा पुगेर आफ्नो पक्षमा मत आकर्षित गर्न कम्मर कसेर लागेका छन् । २०७९ को निर्वाचनलाई आधार मान्ने हो भने यहाँ पुरानै दलको वर्चस्व छ । तुलनात्मक रुममा एमाले बलियो रहेको यहाँ एमाले उप–महासचिव योगेश भट्टराईले लगातार २ पटक निर्वाचित भएका थिए । तर यस पटक भट्टराई चुनावी मैदानमा छैनन् । ९ स्थानीय तह रहेको ताप्लेजुङमा दलिय अवस्थालाई हेर्दा कांग्रेस एमाले मुख्य प्रतिस्पर्धी देखिन्छन् । एकमात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका, सिरिजङ्घा, मिक्वाखोला, मेरिङ्देन गाउँपालिकामा नेपाली कांग्रेस बिजयी भएर पहिलो दल बनेको छ । यस्तै पाथीभरा याङ्वरक, सिदिङ्वा र आठराई त्रिबेणत्री गाउँपालिकामा जित हाल पार्र्दै एमाले दोस्रो र मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाको प्रमुखमा विजयी भएर नेपाली कम्युनिष्ट पार्टी तेस्रो दल बनेको छ । अर्काे रोचक कुरा त के छ भने १३ मध्ये ५ जना उम्मेद्धार एकै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहेकाले मत बाझिने पनि निश्चित छ ।तर यहाँ समानुपातिकमा भने एमाले पहिलो दल बनेको छ । २०७९ सालको निर्वाचनमा एमालेले प्रतिनिधिको समानुपातिकमा १९ हजार ६ सय ४ मत पाएर पहिलो दल बनेकोमा नेपाली कांग्रेसले १५ हजार ७ सय ३५ मत प्राप्त गर्दै दास्रो, तत्कालिन माओवादी केन्द्रले ५ हजार १ सय ६२ मत प्राप्त गर्दै तेस्रो भएको थियो । १ हजार ५ सय ४५ मत रहेको एकिकृत समाजवादी अहिले माओवादी संग समाहित हुँदा नेपाली कम्युनिष्ट पार्टीको ६ हजार ७ सय ७ मत हुन्छ । जुन मत कांग्रेस एमालेको तुलनामा तेस्रो नै रहन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको ९ सय ७८, संघिय लोकतान्त्रि राष्ट्रिय मञ्चको ९ सय ३२ तथा जनता समाजवादी पार्टीको ७ सय २२ मत रहँदा राप्रपाले ६ सय ३७ मत समानुपातिकमा पाएको छ । समानुपालिकमा पुराना दलकै दबदबा रहँदा ताप्लेजुङमा कुन उम्मेद्धारले पासा पटाउँछन् यसै भन्न सकिने अवस्था छैन् । समानुपातिकमा पहिलो र ६१ वडा मध्ये ३० वटा वडा एमाले एक्लैले जितेकाले यहाँ आफ्ना उम्मेद्धार बिजयी हुनेमा एमाले कार्यकर्ता ढुक्क देखिन्छन् । यता धेरै निर्वाचनमा पराजय भोगेको दुखेसो गरेको नेपाली कांग्रेस पनि यो पटक इतिहास रच्ने दाउमा हुँदा, परिवर्तनको बिगुल फुकेर पुरानालाई पाखा लगाउन भन्दै उत्रेका नयाँ दलका उम्मेद्धार पनि जित्ने दाबी गरिरहेका छन् । कुन दलका उम्मेद्धारको सम्भावना र चुनौती ? १. गजेन्द्र प्रसाद तुम्याहाङ नेपाली कांग्रेसका जिल्ला सभाति समेत रहेका तुम्याहाङ पहिलो पटक निर्वाचनमा होमिएका हुन् । युवा र बिद्यार्थीमा राम्रो सम्बन्ध बनाएको तुम्याहाङ यो पटक बिजयी हुनेमा कार्यकर्ता बिस्वस्त छन् । कुनै प्रश्नले नघेरेको निष्कलंक व्यक्ति मैदानमा उतारेको कांग्रेसको दावी छ । तर पार्टी भित्रकै असन्तुष्टी पक्षका कारण तुम्याहाङको जितमा बाधा पुग्न सक्छ । पार्टी भित्र देखिएको बिशेष महाधिबेशन र नियमित महाधिबेशनको असर जिल्लामा पनि नदेखिएला भन्न सकिन्न । अझ २०७९ सालको स्थानीय निर्वाचनमा माओवादी संगको गठबन्धन हुँदा पार्टीका नेताकार्यकर्तालाई पाखा लगाएर टिकट नदिएको आरोप कांग्रेसभित्र उठ्ने गरेको छ । तर शनिबार मात्रै पालिका अध्यक्षको दाबेदार रहेका तर टिकट नपाएका पूर्व क्षेत्रीय सभापति राम बहादर कंलिबाले पार्टीमा कुनै समस्या नरहेको र तुम्याहाङले जिताउने लाग्ने बताएसंगै कांग्रेस कार्यकर्तामा खुसी छाएको छ । तर जिल्ला उपसभापति समेत भ इ सकेका मणि प्रसाद लाबुङ लगायतले टिकट नपाएकै निउँमा पार्टी छोड्दा त्यसको असर पनि निर्वाचनमा देखिने अनुमान हुन थालेको छ । तर समाजसेवा र जिल्लामै कृयाशिल रहेर काम गरेका कारण अन्य दलको मत पनि आफूहरुलाई आउने तुम्याहाङ पक्षको भनाई छ । संगै पहिचानवादीको मुद्धामा समन्वयकारी रुपमै भूमिका निर्वाह गरेका भन्दै पहिचान पक्षधरको पनि मत आउँने कांग्रेसको दाबी छ । २. छितिज थेबे ,युवा संघको अध्यक्ष भइसकेको थेबे एमालेको ११ औँ महाधिबेशनबाट केन्द्रिय सदस्य निर्वाचित भएका एमाले अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छ । युवा र केन्द्र सम्मको राजनीति पहुँच रहेको आँकलन हुँदा यो निर्वाचनमा उनको प्रभाव बिगतका निर्वाचनमा भन्दा बलियो हुने एमाले कार्यकर्ताको बुझाई छ । तर एमाले भित्रकै असन्तुष्टि पक्षका कारण थेबेको जितमा बाधा नआउँला भन्न सकिन्नँ । यति सम्म एमाले भित्र परिवारवादको हावी भएको एमालेकै असन्तुष्टि पक्षको गुनासो छ । थेवेका बुबा भूपेन्द्र थेबे २०७० सालको दोस्रो संबिधानसभा सदस्यमा निर्वाचित भएका थिए भने आमा उर्मिला थेबे ७९ सालको निर्वाचन पछि समानुपातिक निर्वाचनबार्ट सांसद भएकी हुन् । यसले पनि एमाले ताप्लेजुङमा थेबे परिवारको हाली मुहाली भएको गुनासो सतहमा आएको छ । तर समयको माग अनुसार युवा उम्मेद्धार पार्टीले बनाएकाले थेबेलाई पार्टीले उम्मेद्धार बनाएको अर्काे पक्षको भनाई छ । संगै एमाले उपमहासचिव भट्टराइ, नेता तिलकुमार मेन्याङ्वो पनि थेबेको पक्षमा उभिँदा जित निस्चित रहेको एमाले कार्यकर्ताको विश्वास छ । ३. खेल प्रसाद बुढाक्षेत्री (पराग),गत निर्वाचनमा तत्कालीन कांग्रेस माओवादी गठबन्धनका साझा उम्मेद्धार रहेका बुढाक्षेत्री एमाले उपमहासचिव भट्टराई संग २०८ मतले पराजित भएका नेता हुन् । उनी इमान्दार नेताको रुपमा समेत परिचित छन् । उनी यो पटक अघिल्लो मतलाई आकर्षित गर्दै बिजयी हुने दाउमा छन् । तर कम्जोर पार्टी संगठनका कारण बुढाक्षेत्रीको संसदीय यात्रामा बे्रक लाग्ने आँकलन सक्ने हुन थालेको छ । ४. बिरेन्द्र श्रेष्ठ,नेपाली कांगे्रसको महाधिबेशन प्रतिनिधि समेत श्रेष्ठ रास्वपाको बड्दो क्रेज र आफ्नो व्यक्तित्व प्रस्तुत गरेर बिजयी हुने तयारीमा छन् । पेसाले इन्जिनियर रहेका उनी परिवर्तनको मुल एजेण्डा लिएर मतदाता रिझाउन लागि परेका छन् । उनको जितमा संगठनको भन्दा व्यक्तिगत प्रभाव महत्वपूर्ण हुने देखिन्छ, कांगे्रसको राजनीति गरेकाले कांग्रेसकै मत बढी आउँने रास्वपाको बुझाई छ । यतिसम्म कि रास्वपाले सांगठानिक प्रतिवेदनमा कांग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याहाङको वडा खेवाङमा बढी रास्वपाको संगठित सदस्य रहेको समेत देखाएको छ । जहाँ कांग्रेसबाट बिद्रोह गरेर वडा अध्यक्ष जितेका बुद्धि दाहाल पनि रास्वपामै प्रबेश गरेकाले पनि रास्वपा हौसिएको छ । यो संगै मंगोल नेशनल अर्गनाइजेसनका सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का इन्द्र थापा, जनता समाजवादी पार्टी (जसपा) का अरुण लेछर्बो, नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी उम्मेदवारी दर्ता गराउनेमा श्रम संस्कृति पार्टीका सुन्तोष राई, उज्यालो नेपालका कृतिमान मादेन, जसपा नेपालका सूर्य तमु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नरपती पौडेल रहेका छन् । १३ उम्मेद्धार मध्ये कधिकांश पहिलो पटक निर्वाचनमा होमिएको र नयाँ उम्मेद्धारको उदयले ताप्लेजुङको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।-विक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्