धरान, जेठ शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवा खेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णु पादुकाका तिलक राईले यस वर्ष अदुवा खेतीबाट पशस्त आम्दानी भएको बताए । गत वर्षको तुलनामा यस वर्ष उनले अधिक आम्दानी गरेका हुन् । ४० वर्षदेखि उनले अदुवाखेती गर्दै आएका छन् । पूर्व शिक्षक राईले वर्षमा सातदेखि १० क्वीन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताए । अहिले खुद्रा प्रतिकेजी रु. एक सय ५० देखि दुई सय ८० सम्ममा बिक्री हुने गरेकाले राम्रो आम्दानी हुने गरेको उनी बताउँछन् । उनी भन्छन्– ‘अदुवाखेती गर्नका लागि अलि भिरालो ठाउँ फोस्रो माटो आवश्यक पर्छ, ठाउँ अनुसार राम्रो उत्पादन भइरहेको छ ।’ हाल विष्णुपादुकामा अदुवाखेती गर्ने दुई सयभन्दा बढी किसान रहेका राईले बताए । उनी सो स्थानका सफल व्यवसायी हुन् । उनले विष्णुपादुकामा रहेर अदुवाखेती बाहेक अम्लिसो, बेसार, अकबरे खुर्सानी लगायत कृषि उपज उत्पादन तालिम दिँदै आएका छन् । व्यावसायिक रूपमा अदुवाखेती गर्दै आएका धरान उपमहानगरपालिका–२० का अर्का किसान पदम राई मौसमले साथ दिँदा अदुवाखेतीबाट मनग्य आम्दानी हुने गरेको बताए । उनले वार्षिक १० क्वीन्टलभन्दा बढी अदुवा उत्पादन गर्दै आएको बताए । उनले विष्णुपादुका क्षेत्रमा मात्र नभएर मोरङको लेटाङमा समेत जग्गा लिजमा लिएर अदुवाखेती गरेका छन् । वार्षिक रु. तीन लाखसम्मको अदुवा बेचेको उनले बताए । विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । उनले कोशी करिडोरका पहाडी जिल्लाका किसानले अत्यधिक मात्रामा अदुवा ल्याउने गरेका तथा सगरमाथा करिडोर सिन्धुलीबाट पनि अदुवा बोकेर किसान आउने गरेको बताए । विशेषगरी धेरै अदुवा जेठदेखि भदौसम्म बिक्री हुने गरेको उनले जानकारी दिए । दैनिक रुपमा एक सयदेखि दुई सय मेट्रिक टन अदुवा धरान कृषि बजारबाट बिक्री हुने गरेको उनले बताए । वि.सं. २०८० असार मसान्तदेखि २०८१ जेठ १० गतेसम्ममा धरान उपमहानगरपालिका–१३ कृषि बजारबाट जम्मा सात हजार आठ सय सन्तावन्न मेट्रिकटन अदुवा बिक्रीबाट रु. एक अर्ब ३७ करोड ४९ लाख ७५ हजार आम्दानी भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताए । अदुवा निकासीमा सरकारको सहयोग अपरिहार्य भएको उनले बताए । बेला–बेलामा धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, पाँचथर, ताप्लेजुङ लगायत ठाउँबाट किसानले अदुवा ल्याउने गरेका छन् । भारत मात्र नभएर तेस्रो देश निर्यातको गृहकार्य गर्नुपर्ने अध्यक्ष भट्टराई बताउँछन् । अदुवाको बजार उत्साहजनक भएकाले अधिकभन्दा अधिक उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी भएको उनी बताउँछन् । साभार
शिक्षण छाडेर अदुवाखेती गर्दै किसान








