इलाम, असोज २४। असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण इलाम नगरपालिका–१०, गोदकस्थित टापु क्षेत्रका करिब ४३ परिवार विस्थापित भएका छन् । घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएपछि ती परिवारहरू अहिले अस्थायी आवासमा बस्न बाध्य भएका छन् । यस कठिन अवस्थामा आरएसके सेल्टरसंस्थाले सहयोगका रूपमा चार थान डबल आरएसके आपतकालीन सेल्टर निर्माण गरी प्रभावित परिवारहरूलाई हस्तान्तरण गरेको छ । संस्थाको यो पहलले असहाय परिवारहरूलाई तत्काल बसोबासका लागि ठूलो राहत पुगेको स्थानीयहरूले बताएका छन् । राहत कार्यमा नेपाली सेनाको टोली मेजर सूर्यबहादुर केसीको नेतृत्वमा श्रमदान मार्फत सक्रिय रूपमा सहभागी भएको थियो । आरएसके सेल्टर का प्रतिनिधि शरद जोशी, भीष्म घिमिरे र विष्णु आचार्यले भने– ‘हामीले यसअघि पनि जाजरकोट, नलगाड र सर्लाहीमा विपद्का समयमा आपतकालीन टहरा निर्माण गरी सहयोग पु¥याएका थियौं । यसपटक पनि इलामका प्रभावित दाजु भाइ बहिनीहरूका लागि सकेसम्म शीघ्र राहत पु¥याउने प्रयास गरेका हौं’ । भन्दै सहयोगको निरन्तरता रहने बताए । यस क्रममा इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीयबासीहरूले आरएसके सेल्टरको यो मानवीय योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यको निरन्तरता रहने विश्वास व्यक्त गरेका छन् । समाचार स्रोत पूर्वाअञ्चल दैनिक,
गोदक टापुमा बाढीपीडितका लागि आपतकालीन आवास








