समय : ०६:४५ am | मङ्गलबार , भाद्र ३० गते २०८३

झापासहित तराईका जिल्लामा गर्मी बढेपछी तराईको जनजीवन प्रभावित,

सेवालुङ खवर | जेठ ३१ गते २०८२

झापा । झापासहित तराईका जिल्लामा गर्मी बढेको छ । जसका कारण तराईको जनजीवन प्रभावित भएको छ । उखरमाउलो गर्मीका कारण बजार सुनसान छन् । सडकमा आवागमन समेत कम छ । लगातार केही दिन पानी परेको र त्यसपछि ३÷४ दिन यता टन्टलापुर घाम लागेका कारण गर्मी ह्वात्तै बढेको हो । कतिपय साना व्यापारीले ठेलामा छाता राखेर सडक छेउमा व्यापार गरिरहेको देखिन्छन् । मजदुर रिक्सामै छाता लगाएर गर्मी छल्न बाध्य छन् । विशेषगरी बाहिर काम गर्ने मजदुरहरु गर्मीका कारण बढी समस्यामा परेका छन् । गर्मीका कारण पठनपाठन सञ्चालन गर्न कठिनाई भएको भन्दै विद्यालय बिदा दिइएको छ । झापा लगायत अत्यधिक गर्मी हुने जिल्लामा विद्यालय बिदा दिइएको हो । झापाका अधिकांश पालिकाले बिद्यालय दुई दिनका लागि बन्द गरेका छन् । बाह्रदशी, बिर्तामोड, भद्रपुर, दमक, झापा, कमल लगायतका स्थानीय तहले दुई दिनका लागि विद्यालय बन्द गरेका हुन् । बिर्तामोड नगरपालिका शिक्षा शाखाका उपसचिव तिलचन भण्डारीले एक सूचना जारी गर्दै बिर्तामोड नगरपालिकाले दुई दिनका लागि विद्यालय विदा दिएको जनाएका छन् । नगरभित्र सञ्चालित सबै बिद्यालयलाई गर्मी बिदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जारी सूचनामा उल्लेख छ । नगरप्रमुख स्तरीय निर्णय अनुसार जेठ २९ र ३० गते दुई दिन बिदा दिएको हो । वर्षे बिदावाट कट्टा हुने गरी मौसम अनुकूल नहुञ्जेल बिदाको समय अवधि थपघट हुने बिदा दिइएको जनाइएको छ । बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले जारी गरेको सूचनामा वर्षे बिदामा कट्टा हुने गरी गर्मी विदा दिइएको उल्लेख छ । यसैबीच अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । बिहीवारदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण बिद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उनले जानकारी दिएका छन् । उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा गर्मी बिदा दिने जनाएको थियो । बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र बिद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेकाले बिदा दिएको उनले बताइन् । स्थानीय तहको यो निर्णयले विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकलाई केही राहत दिने विश्वास गरिएको छ । पालिकाहरुले विद्यालय विदाको निर्णय गरिरहँदा झापाका विभिन्न स्थानमा बुधवार अपरान्ह भएको बर्षाले केही हदसम्म राहतको महशुस गराएका छ । यदि गर्मी घट्यो भने विहीवार विदा भए पनि शुक्रवार विद्यालय सञ्चालन गर्ने मनस्थितिमा पालिकाहरु रहेको बताइएको छ ।साभार पुर्वाअञ्चल दैनिकमा प्रकाशित,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्