समय : ०२:४३ pm | सोमबार , भाद्र २९ गते २०८३

ताप्लेजुङमा तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सवको तयारी

सेवालुङ खवर | श्रावण ५ गते २०८१

ताप्लेजुङ, साउन ताप्लेजुङमा तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सवको तयारी गरिएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा आउँदा साउन २५ देखि २८ गतेसम्म आयोजना गर्ने गरी तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव–२०८१ को तयारी गरिएको हो ।पापुङस्थित हिमाली तोक्पेगोला युथ क्लब र मिक्वाखोला–५ पापुङको आयोजनामा महोत्सव हुने भएको हो । तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सवको तयारी गरिएसँगै पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको क्लबले जनाएको छ । आयोजक क्लबका अनुसार पर्यटकीय क्षेत्र तोक्पेगोलाको प्रचारप्रसार तथा चौंरीको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको तयारी गरिएको हो ।मूल आयोजक समितिका संयोजक एवम् वडाध्यक्ष शेर्पाका अनुसार पर्यटन प्रवद्र्धन साथै स्थानीय संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नै महोत्सवको तयारी गरिएको हो । महोत्सवको मुख्य आकर्षणका रुपमा चौंरी तथा भेडा प्रदर्शनी, पापुङ तोक्पेगोला क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत ढोक्प्या जातिको संस्कृति प्रदर्शनी रहने छ । यस्तै सो क्षेत्रमा रहेको सोदु पोखरी, साजु पोखरी, भूत पोखरी, तीन पोखरी लगायतका पोखरी तथा तालतलैया अवलोकन गर्न सकिने छ ।मिक्वाखोला गाउँपालिका क्षेत्रअन्तर्गत नै रहेको हिलिमा झरना र फुङ्फुगे झरनाको अवलोकन गर्न पाइने छ । पदमचाल (केन्जो), बिख्मा, पाँचऔँले, यार्सागुम्बा लगायतका बहुमूल्य जडीबुटीको अवलोकनसमेत गर्न पाइने आयोजकले जनाएको छ । सीमान्तकृत ढोक्प्या जातिको पृथक पहिचान र मौलिक संस्कृति, भेषभूषा र रहनसहनसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुने छ ।यस्तै महोत्सवमा पुरुष भलिबल, पुरुष म्याराथुनलगायतका खेलसमेत सञ्चालन हुने खेल संयोजक दावा नुपु ढोक्प्याले जानकारी दिनुभयो । ढोक्प्याका अनुसार भलिबल प्रतियोगितामा विजेताले एक लाख ११ हजार १११ रुपियाँ र उपविजेताले ७१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् ।महोत्सव आयोजना गर्न लागिएको तोक्पेगोला क्षेत्र जिल्लाकै एक पर्यटकीय गन्तव्यअन्तर्गत पर्दछ । त्यस क्षेत्रमा रहेको पोखरी तथा तालतलैया, याक तथा चौंरी, भेडाको गोठ, चरन क्षेत्र रहेको फराकिलो घाँसे मैदान, बहुमूल्य जडीबुटी, लोपोन्मुख रेडपान्डा, डाँफेजस्ता वन्यजन्तु साथै वनस्पतिको दृश्यालोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन् । साभार–उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्