काठमाडौं -अन्य जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ व्यवस्था सार्वजनिक गर्दै तोकिएका सर्त पूरा गर्ने नागरिकले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने जनाएको छ। सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। यसले नागरिकताको प्रतिलिपि लिनकै लागि आफ्नो गृहजिल्ला पुग्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट नागरिकता लिएका नागरिकले जिल्ला प्रशासन कार्यालय काठमाडौं, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट नागरिकता लिएकाले जिल्ला प्रशासन कार्यालय ललितपुर तथा कोशी र मधेश प्रदेशबाट नागरिकता लिएकाले जिल्ला प्रशासन कार्यालय भक्तपुर बाट प्रतिलिपिका लागि आवेदन दिन सक्नेछन्।तर, नागरिकताको प्रतिलिपि लिनका लागि सम्बन्धित विवरण र अभिलेख मिलेको हुनुपर्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट नागरिकता लिएका व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा रहेको जैविक विवरण मिल्नुपर्ने व्यवस्था छ। यदि सम्बन्धित कार्यालयमा नागरिकताको अभिलेख फेला नपरेमा वा नाम, थर तथा जन्ममितिजस्ता विवरण सच्याउनुपर्ने भएमा भने नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ। अभिलेख शंकास्पद देखिएमा पनि नागरिकता जारी गर्ने जिल्लाबाट आवश्यक विवरण पुष्टि गर्नुपर्ने हुन्छ। यस व्यवस्थाले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन सहज बनाउने अपेक्षा गरिएको छ। यद्यपि, प्रतिलिपि प्राप्त गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेका प्रक्रिया र आवश्यक सर्तहरू पूरा गर्नुपर्नेछ।
नेपाली नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन पाउने








