काठमाडौँ असोज १० गते शनिबार स्थानीय पेप्सीखोला स्थित विश्व ज्ञान पाठशालाको सभा हलमा मनोहरा साहित्य समाजको आयोजनामा ११७ औँ रचना श्रृङ्खला एवं श्याम सिंघकको उपन्यास कोइलाखादको परिचर्चा र विमर्श सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज अर्यालको स्वागत मन्तव्य र सिर्जना वाचनबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिहरूमा प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी, विशिष्ट अतिथिहरु डाक्टर रमेश सुबेच्छुक, हाँस्य व्यङ्ग्यकार आरसी रिजाल र लेखक श्याम सिंघक हुनुहुन्थ्यो । समीक्षक डा. शुभेच्छुकले कोइलाखाद पुस्तक ताप्लेजुङ देखि आसाम, मेघालय, मणिपुरसम्मको श्रमिक नेपालीहरूको कोइला खानीमा भोगेको जीवन्त कथाहरुमा त्रिकोणात्मक विम्बात्मक, प्रेममा आधारित एउटा लोचन लिम्बु भन्ने पात्र आफ्नो घरबाट छुटेर परदेश भारत गएको घतलाग्दो कहानी छ । यसमा करिब १४ पृष्ठको लामो आफूले समीक्षा लेखेतापनि समय अभावले सबै सुनाउन नसकिने भएकोले कुनै मिडिया मार्फत पुन सबै विवरण निकाल्ने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यस्तै कोइला खादका लेखक श्याम सिंघकले आफूले यो पुस्तक तैयार गर्नु करिब पाँच वर्ष ज्यादा लागेको र पटकपटक भारत कोइलाखात निरीक्षण गर्न, अनुसन्धान गर्न र भ्रमण गर्नु परेको भोगाइ सुनाउनुभयो भने पुस्तक चर्चा समीक्षा कार्यक्रम राखिदिनु भएकोमा आयोजकलाई धेरै धन्यवाद दिनुभयो । यो पुस्तकको प्रकाशक फिनिक्स बुक्स २०८१ र ३५४ पृष्ठ लामो रहेको छ । मन्तव्यका क्रममा प्रमुख अतिथि डा. धनप्रसाद सुवेदीले केन्द्रमा प्रज्ञा–प्रतिष्ठान तथा प्रदेश र स्थानीय सरकारबीच उचित समन्वयको अभावमा साहित्यिक–प्राज्ञिक संस्थाहरूको संरक्षण र विकासमा चुनौती देखिएको र आज आफूलाई प्रमुख अतिथि बनाउनुभएकोमा संस्थाप्रति आभार रहेको कुरा बताउनु भयो। करिब तीन दर्जन कविहरूले भर्खरै रसुवा लगायत भोटेकोशीमा भएको अकल्पनीय प्रकृतिबाढी पहिरोमा क्षति भएको विषयदेखि देशभक्ति, क्रान्तिकारी, वीर रस, करुणा रस आदिका छन्द, गद्य, पद्य रचनाहरू वाचन गरिएको थियो । सृजना सुनाउनुहुने सर्जकहरू बलराम बिष्ट, सरिता घिमिरे, मुकुन्दराज शिवाकोटी, डम्ब घिमिरे, सूर्यप्रसाद डुम्रे, सरिता तिमल्सिना, पदम दाहाल, मदन राज घिमिरे, केशव ज्ञवाली, भुवन शिवाको, सम्पत्त काफ्ले, अप्सरा पोखरेल, कविराज घिमिरे, गोविन्द नेपाल, रत्ननिधि रेग्मी सुकराचार्य, कृष्ण प्रसाद पौडेल जस्ताघरे, चेवन बस्नेत ठूलाघरे, मधुसुधन प्र घिमिरे, दुर्गा घिमिरे, सञ्जय सोती, अल्फी फोहेन फाप्लुपा, घनश्याम प्रसाई, जीके एन्ड खडेरी, प्रिन्स प्रमोद, गोविन्द प्र. घिमिरे वेदमणि, मधुसुदन आचार्य अनि सबैले मुग्ध पार्ने सिर्जना सुनाउनुभएको थियो। झन्डै ४ घण्टा भएको साहित्यिक कार्यक्रमको उद्घोषक संस्थाका सचिव भाव किशोर बरालले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियो ।–चन्द्र मादेन आन्छन,


फोटो तस्विर :–चन्द्र मादेन आन्छन,








