ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, भदौ २४ गते ताप्लेजुङको हिमाली भेग घुन्सा र फलेमा इटालीबाट ल्याएर रोपिएको स्याउ फल्न थालेको छ । इटालीबाट स्याउको बिरुवा ल्याएर रोपेको चार वर्षपछि अहिले लटरम्म फल्न थालेको हो। जिल्लाको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको घुन्सा र फलेमा अहिले स्याउ लटरम्म फलेको छ । समुद्री सतहदेखि तीन हजार ४७५ मिटर उचाइ रहेको घुन्सा र तीन हजार २३२ मिटर उचाइको फलेमा परीक्षणका लागि रोपिएको स्याउ लटरम्मै फल्न थालेको हो । घुन्साका स्थानीय तेन्जिङ सेराप शेर्पाका अनुसार बिरुवा रोपेको करिब एक वर्षपछिदेखि नै फल्न थालेको र अहिले लटरम्म फल लागेको छ। फक्ताङ्लुङ गाउँ कार्यपालिकाका सदस्यसमेत रहेका शेर्पाले परीक्षणका लागि रोपिएको स्याउको बिरुवा सप्रिएर आएको र अहिले राम्ररी फल्न थालेको बताउनुभयो । उहाँका अनुसार इटालीबाट ’फुजी’ र ’गोल्डेन डेलिसियस जातको स्याउको बिरुवा ल्याएर परीक्षण खेती सुरु गरिएको हो। हिउँदयामभर निकै बाक्लो हिउँ पर्ने क्षेत्र फले र घुन्सामा बिरुवा रोपेको एक वर्ष नबित्दैदेखि स्याउ फल्न सुरु गरेको र अहिले लटरम्मै फल्न थालेको स्थानीयले बताएका छन् । परीक्षणका लागि रोपिएको स्याउ मनग्गे फल्न थालेपछि अहिले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई चखाउनसमेत थालिएको फलेका स्थानीय मिङ्मा शेर्पाले बताउनुभयो । पहिलो पटक परीक्षणका लागि लगाइएको खेतीबाट फलेको स्याउ बाह्य तथा आन्तरिक पर्यटकलाई चखाउन र कोसेलीका रूपमा दिन पाउँदा खुसी लागेको शेर्पाले बताउनुभयो । ’फुजी’ र ’गोल्डेन डेलिसियस जातको स्याउ निकै रसिलो र स्वादिलो भएकाले पर्यटक लोभिने गरेका पनि उहाँले बताउनुभयो । कञ्चनजङ्घा हिमाल प्रवेशविन्दुका रूपमा रहेको घुन्सा र फलेमा स्याउको परीक्षण खेती सफल भएको र यहाँ फलेको स्याउको स्वादमा पर्यटक लोभिएको पाएपछि स्थानीयले खेती विस्तार गर्ने योजना बनाउन थालेका छन् । पर्यटकलाई चखाउने र कोसेलीका रूपमा बिक्री गरेर स्याउ खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना बनेको स्थानीय मिङ्माडन्डु शेर्पाले बताउनुभयो । कञ्चनजङ्घा भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई कोसेलीका रूपमा स्याउ बिक्री गरेर राम्रो आम्दानी गर्न सकिने शेर्पाले बताउनुभयो ।–चन्द्र पन्दाक
ताप्लेजुङको हिमाली भेग घुन्सा र फलेमा फल्न थाल्यो इटालीको स्याउ








