ताप्लेजुङ,भदौ १७ । रसुवा बाढी पीडितका लागि ताप्लेजुङको फुङलिङ स्थित लिटलबुद्ध बोर्डिङ स्कुल र त्यहाँका बिद्यार्थीले मनकारी कार्य गरेका छन् । बिद्यालयले व्यवस्थापन समिति र बिद्यार्थीले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको १ लाख १० हजार ६ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बिद्यालयका प्रिन्सिपल युवराज गिरीका अनुसार कक्षा ५ देखि १० सम्मका बिद्यार्थीले बुधवारको खाजा खर्च कटाएर २५ हजार ९ सय ७५ रुपैयाँ संकलन गर्नु भएको छ । नर्सरी देखि कक्षा ४ सम्म पढाउने शिक्षकहरुले दैनिक खाजा खर्च कटाएर १४ हजार १ सय ५ रुपैयाँ संकलन गरे भने प्रिन्सिपल गिरीसहित कक्षा ५ देखि कक्षा १० सम्मका शिक्षकले १८ हजार ४ सय २० रुपैयाँ संकलन गर्नु भएको छ । लिटलबुद्ध बिद्यालय व्यवस्थापन समितिले सामाजिक उत्तर दायित्व अभियान अन्तरगत ५२ हजार १ सय १५ रुपैयाँ राहत कोषमा थप गर्ने निर्णय लिएको छ । ताप्लेजुङका निजी तथा आवासीय बिद्यालयहरुले रसुवा बाढी पीडितका लागि आ–आफ्नो बिद्यालय र इच्छुक बिद्यार्थीहरुबाट स्वेच्छिक सहयोग संकलन अभियान चलाएका छन् । बिद्यार्थीले बरु एकदिन खाजा नखाने तर त्यही बचेको रकमबाट आपतमा परेका बिद्यार्थी तथा अभिभावकको सहयोगका लागि अग्रसर हुने बताएर स्वेच्छिक हिसावले आफ्ना साथीभाईबाट रकम संकलन गरेको लिटलबुद्धका प्रिन्सिपल गिरीले जानकारी दिनभयो ।–उज्यालो पोष्ट,
बाढी पीडितका लागि लिटलबुद्ध बोर्डिङ स्कुलले १ लाख, १० हजार ,भन्दा बढी राहत कोषमा जम्मा गर्ने,








