समय : ०१:२२ pm | आइतबार , भाद्र २८ गते २०८३

फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई करिव साढे चार लाख अलैँचीको बिरुवा वितरण

सेवालुङ खवर | भाद्र २ गते २०८३

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई करिव साढे चार लाख अलैँचीको बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले वडा ७ ओलाङ्चुङगोलाबाहेक अन्य छ वटा वडाका किसानलाई उक्त परिमाणमा अलैँचीको बिरुवा वितरण गरेको हो । पालिकाका वडा १ देखि ६ सम्मका किसानलाई कूल चार लाख ४४ हजार ९०० अलैँचीको बिरुवा वितरण गरिएको हो । अर्लाङ, डम्बरसाई र रामसाई जातको अलैँची बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो ।पालिकावासी किसानलाई वितरण गरिएको उक्त अलैँचीको बिरुवा इलामदेखि ल्याइएको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई अलैँचीको बिरुवा वितरण गरिएको हो । किसानलाई वितरण गरिएको अलैँचीको बिरुवामध्ये भर्लाङ जातको सबैभन्दा बढी तीन लाख १७ हजार ६०० रहेको छ । त्यस्तै रामसाई जातको ८६ हजार ६०० र डम्बरसाई जातको ४० हजार ७०० अलैँचीको बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाका अनुसार वडा १ सावादिनमा भर्लाङ जातको २० हजार अलैँचीको बिरुवा किसानलाई वितरण गरिएको छ । वडा २ खेजेनिममा भर्लाङ जात ५८ हजार १०० र डम्बरसाई जातको ३० हजार १०० अलैँची बिरुवा वितरण गरिएको छ । यस्तै वडा ३ लिङ्खिममा भर्लाङ ३० हजार ८०० र डम्बरसाई चार हजार ८००, वडा ४ इखाबुमा भर्लाङ ७४ हजार, रामसाई २४ हजार र डम्बरसाई चार हजार १०० अलैँचीको बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ । पालिकाका अनुसार वडा ५ तापेथोकमा भर्लाङ जातको ६९ हजार २००, रामसाई ३३ हजार ६०० र डम्बरसाई जातको अलैँची बिरुवा ४०० वटा वितरण गरिएको छ । यसैगरी वडा ६ लेलेपमा भर्लाङ ६५ हजार ५००, रामसाई २९ हजार र डम्बरसाई एक हजार ३०० अलैँचीको बिरुवा वितरण गरिएको छ । यता वडा ७ ओलाङ्चुङगोला भने अलैँची खेती नहुने हिमाली भू–भागमा पर्ने भएकाले त्यहाँ याक चौँरी पालन प्रवर्धन तथा छुर्पी उत्पादन कार्यक्रममार्फत किसानलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । उहाँका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपियाँ र गाउँपालिकाले प्रत्येक वडालाई सात लाख रुपियाँका दरले उपलब्ध गराएको बजेटबाट किसानलाई सहयोग गरिएको हो । प्रदेशको बजेटबाहेक गाउँपालिकाले उपलब्ध गराउने सात लाख रुपियाँ प्राप्त गर्नका लागि भने वडाहरुले आफ्नो वडामा पालिकाबाट विनियोजित कुल बजेटको १० प्रतिशत रकम अनिवार्य कृषि योजनामा छुट्याउनुपर्ने निर्देशन गरिएको थियो । ताप्लेजुङ नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लामा पर्दछ भने यहाँका अधिकांश किसान अलैँची खेतीमै निर्भर रहेका छन् ।-रेडियो तमोर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्