फुङलिङ – स्वतन्त्र बिद्यार्थी युनियन पाथीभरा क्याम्पसले दिउँसोको समयमा क्याम्पस प्रशासन बन्द हुँदा बिद्यार्थीका अत्यावश्यक काम हुन नसकेको बताएको छ । बिहिबार आज क्याम्पस प्रमुख सजन पौडेल समक्ष क्याम्पसका शैक्षिक तथा प्रशानिक समस्या समावेश ध्यानाकर्षण पत्र बुझाउँदै स्ववियुले दिउँसो क्याम्पस प्रशासन बन्द हुँदा बिद्यार्थीले फारम भर्न, कागजात प्रमाणीत गर्न तथा आवश्यक प्रशासनिक सेवा लिन समस्या भोग्नुपरेको भन्दै नियमित रुपमा प्रशासन खुल्ला रहने व्यवस्था मिलाउन आग्रह गरेको हो । यस्तै पुस्तकालयमा पर्याप्त सन्दर्भ सामाग्री नभएको, कक्षाकोठामा आवश्यक शैक्षिक सामाग्री तथा पूर्वाधारको अभाव रहेको, बिद्यार्थीमैत्री वातावरणको अभाव तथा गुनासो सुनुवाईको प्रभावकारी संयन्त्र नभएको समस्या ध्यानाकर्षणमा समावेश गरी बुझाईएको स्ववियु सभापति तिलकुमार जोगीले जानकारी दिनुभयो । उहाँका अनुसार गत जेठ ५ गतेको सञ्चालक समितिको बैठकबाट भएका निर्णयहरु पुनरावलोकन तथा सुधार गर्न भनिएको छ । सञ्चालक समितिले हाल कायम रहेको शुल्कलाई ४० प्रतिशतले बृद्धि गर्ने लगायतका निर्णय गरेको जनाइएको छ । स्ववियु सचिव लक्ष्मण पौडेलका अनुसार कोर्स समयमै सक्ने नाममा हतार हतारमा अध्यापन गरी बिषयबस्तुको गहिराइमा पर्याप्त ध्यान नदिने तथा पुनरावलोकन कक्षासमेत सञ्चालन नगर्ने अभ्यासले बिद्यार्थीको सिकाइ गुणस्तरमा प्रत्यक्ष असर परेको बिद्यार्थीहरुबाट गुनासो आएको र उक्त प्रबृत्ति सुधार गरी सम्पूर्ण प्राध्यापकहरुबाट नियमित, व्यवस्थित र गुणस्तरीय पठन पाठन सुनिश्चित गर्न पनि ध्यानाकर्षण गरिएको छ । जिल्लाको एकमात्र स्नाकोत्तरतह अध्ययन अध्यापन हुने क्याम्पस भए पनि बद्लिँदो प्रबिधि अनुसार आवश्यक स्मार्टबोर्डको व्यवस्था नहुँदा आधुनिक तरिकाको सिकाईबाट बञ्चित हुन परेको उल्लेख गर्दै प्रत्येक कक्षाकोठामा स्मार्टबोर्डको व्यवस्था गरिदिन पनि आग्रह गरेको छ ।–बिक्रम लाम्गादे,
शैक्षिक तथा प्रशानिक समस्याका बारेमा स्ववियुद्वारा क्याम्पस प्रशासनको ध्यानाकर्षण








