समय : १२:३६ pm | आइतबार , भाद्र २८ गते २०८३

बाढीपहिरो पीडितलाई ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

सेवालुङ खवर | असाेज २२ गते २०८२

काठमाडौं । अविरल वर्षाका कारण असोज ११ र १२ गते देशभर विभिन्न स्थानमा आएको बाढी र पहिरोले व्यापक क्षति पु¥याएपछि सरकारले प्रभावित परिवारलाई तत्काल राहत स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढीपहिरो पीडितको आवास पुनर्निर्माणका लागि तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार बैठकले विपद् प्रभावितलाई राहत कार्य प्रभावकारी बनाउन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका तत्काल गरिने कार्यहरू तय गरेको छ । भट्टका अनुसार, घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्राधिकरण मार्फत ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराइनेछ । उनले भने– ‘राहत वितरण प्राधिकरणको मापदण्ड अनुसार हुनेछ, साथै बाढीपहिरोमा परी मृत्यु भएका, बेपत्ता भएका र घाइतेलाई दिने रकम पनि तत्काल निकासा गरिनेछ ।’ बैठकले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । साथै, सडक, खानेपानी, विद्युत्, सञ्चार जस्ता अत्यावश्यक सेवा सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय निकायबीच समन्वय गरी केन्द्र सरकारले सहयोग गर्ने निर्णय भएको भट्टले जानकारी दिए । त्यस्तै, विपद्पछि रोग र महामारी फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सङ्घ र प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयहरूको संयुक्त पहलमा नियन्त्रण तथा रोकथामका लागि आवश्यक काम गर्ने निर्णय भएको छ । बैठकले इन्साराग (अन्तर्राष्ट्रिय खोज उद्धार मापदण्ड) अनुसार सुरक्षा निकायलाई आवश्यक तालिम र पूर्वाधार व्यवस्थापन गर्ने तयारी अघि बढाउने निर्णय गरेको पनि कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्