खराब मौसमको सूचना पाएपछि हिमाल आरोहणका लागि पुगेका विदेशी नागरिकहरू सुरक्षित स्थानमा फर्किएका छन् । ७ हजार ७ सय १० मिटर उचाइको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका दुईजना विदेशी मौसम सुधार नभएसम्मका लागि भन्दै आफ्नो होटेलमा फर्किएको घुन्साका पर्यटन तथा होटल व्यवसायी छिरिङ शेर्पाले जानकारी दिए ।उनीहरू खम्बाछेनदेखि एक क्याम्प तल रहेको घुन्साको जोङगा होटेल फर्किएका हुन् । यसवर्ष फ्रान्सका नागरिक बेन्जामिन र निकोलस हिमाल आरोहणका लागि आएका छन् । उनीहरूले गतवर्ष पनि यही हिमाल आरोहणको प्रयास गरेका थिए । आरोहण सफल हुन नसकेपछि फर्किएका उनीहरू यसवर्ष पनि पुनस् प्रयासमा आएका हुन् । मौसमविद् तथा विपद् व्यवस्थापन समितिको सूचना अनुसार उनीहरू हिमाल नजिकमा केही दिनको तयारी गरेर होटेलमा फर्किएको छिरिङले बताए ।मौसममा सुधार आएपछि प्रयासलाई गति दिने सन्देश आफूलाई दिएको छिरिङ बताउँछन् । कञ्चनजङ्घा आधार शिविर क्षेत्रको मौसम भने अहिले सामान्य रहेको स्थानीयले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइले विज्ञप्ति प्रकाशित गरी १७ देखि २० गतेसम्म सावधानी अपनाउन आग्रह गरेका छन् । समाचार स्रोत कान्तिपुर
फक्ताङलुङ हिमाल आरोहणमा गएका विदेशी नागरिक खराब मौसमको सूचना पछि होटेलमा फर्किए








