ताप्लेजुङ, / लिम्बू समुदायको साझा संस्था किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान गरेको छ । ३७ औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा अध्ययनरत पाँच जना बिपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै शुभकामना आदानप्रदान गरेका छन् । फुङलिङ स्थित तोक्मेमा रहेको धान नाच पार्कमा आयोजित कार्यक्रममा खेममाय सिङ्घक आङ्बुहाङ् तथा देवी बहादुर आङ्बुङ् छात्रवृत्ति अक्षयकोषमार्फत सिरीजंघा गाउँपालिका ३ का आयुसा लिम्बूलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको चुम्लुङ्का अध्यक्ष डम्बर बहादुर पालुङ्वाले बताउनुभयो । अध्यक्ष पालुङ्वाका अनुसार किराँत याक्थुङ चुम्लुङ इजरायल छात्रावृत्ति कोषबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुका सन्जिब विक र मिक्वाखोा गाउँपालिका ३ लिबाङका अमिरा लिम्बूलाई समान नगद दश हजार रुपियाँ प्रदान गरिएको कियाचुले जनाएको छ ।त्यस्तै किराँत याक्थुङ सहयोग कोषबाट फुङलिङ नगरपालिका ९ हाङदेवाका सुप्रिया मादेन र फक्ताङलुङ गाउँपालिकाका सेसेहाङ् लिम्बुलाई समान पाँच हजार रुपियाँ छात्रवृत्ति स्वरुप नगद प्रदान गरिएको बताइएको छ । कार्यक्रममा उपस्थित कियाचुका केन्द्रीय सदस्य नविन पोमु, सल्लाहाकार कृतिमान मादेन लगायतले छात्रवृत्तिको रकम हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा लिम्बू समुदायका नागरिकहरु मौलिक भेषभुषामा सजिएर उपस्थित भएका थिए । कार्यक्रममा धान नाच समेत प्रस्तुत गर्नुका साथै उपस्थित विभिन्न सरोकारवालाका प्रतिनिधहरुले शुभकामना समेत व्यक्त गरेका थिए ।गोरखा पत्र अनलाईन
किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले ३७ औँ स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान








