ताप्लेजुङ, साउन ७ गते। ताप्लेजुङका राष्ट्रिय तथा सामुदायिक वनबाट करिव साठी हजार किलोग्राम जडीबुटी सङ्कलन गरिएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त परिमाणमा विभिन्न जडीबुटी सङ्कलन भएको हो।
डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार पछिल्लो एक वर्षको अवधि अर्थात गएको आमा कुल ५९ लाख ९०० किलोग्राम जडीबुटी सङ्कलन भएको हो। सङ्कलित जडीबुटीमध्ये सबैभन्दा बढी धुपीपात २८ हजार ७५० किलोग्राम रहेको छ। धुपीपातपछि सुनपाती ११ हजार ५००, लोक्ता आठ हजार ८०० र चिराइतो पाँच हजार ४०० किलोग्राम सङ्कलन भएको वन अधिकृत यादवले जानकारी दिनुभयो।
यस्तै अर्गेली दुई हजार ७०० किलोग्राम, वन प्याज एक हजार, मजिठो ५००, भिर मह ३५०, पानी अमला ३०० किलोग्राम सङ्कलन भएको छ। वन लसुन ३००, कुट्की २५० र सुनाखरी ५० किलोग्राम सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ। उक्त परिमाणको जडीबुटी सङ्कलन गर्न इजाजत ९अनुमति० दिएबापत तीन लाख ३४ हजार ४५० रुपियाँ राजस्व रकम सङ्कलन भएको पनि वन अधिकृत यादवले जानकारी दिनुभयो।
आघिल्लो आवमा भने ४३ हजार १३० किलोग्राम मात्र जडीबुटी सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका अनुसार गत आवमा विभिन्न १२ प्रजातिको जडीबुटी सङ्कलन भएको छ भने अघिल्लो आव २०८०र८१ मा चिराइतो, धुपीपात, भिर महलगायत सात प्रजातिका जडीबुटी सङ्कलन गरिएको थियो।चन्द्र पन्दाक, गोरखा पत्र अनलाईन,








