काठमाडौँ,/ मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार– भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार जनवरी १देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका थिए भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको संख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप पार्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने– डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ, यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । त्यसका लागि नागरिक, समुदाय, सरकारी– गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ । डा. दाहालले यो वर्ष मनसुन छिट्टै शुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने बताए । यो वर्ष डेङ्गी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आँकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्याङ्क छैन । यद्यपि मनसुन केही अघि शुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन– उनले भने । डा. दाहालका अनुसार सबैले डेङ्गी नियन्त्रणमा आ–आफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहका सरकारले डेङ्गी नियन्त्रण सम्बन्धी आवश्यक कार्यक्रम ल्याइए डेङ्गी सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले डेंगी नियन्त्रण गर्न सकिन्छ । पानी जम्मा गरी राखिएका ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सीसी, बोतल, टीका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जम्न सक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।
मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेपछी ७२ जिल्लामा फैलियो डेंगी








