समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा पछि शिक्षक आन्दोलन थप चर्कियो,

सेवालुङ खवर | वैशाख १० गते २०८२

काठमाडौं/ शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि उत्साहित बनेका शिक्षकले आन्दोलन थप चर्काएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु चर्काउने चेतावनी दिँदै आन्दोलन अघि बढाउन थप उत्साहित देखिएका छन् । विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । आन्दोलनको २१औँ दिन मंगलवार काठमाडौंको विजुलीबजारमा कुरा गर्दै अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए । उनले भने– ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने बताए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक आन्दोलनको कुनै साइनो नभएको स्पष्ट पारे । उनले भने– ‘माननीय शिक्षामन्त्रीज्यूको राजीनामा र हाम्रो आन्दोलनको कुनै साइनो छैन । सार्वजनिक रुपमा उहाँले आफ्नो स्वास्थ्यको कारण भन्नुभएको छ, आन्तरिक कारण के हो जान्ने कुरा पनि भएन । हामीलाई चासो पनि भएन् । म प्रष्ट पार्न चाहन्छु उहाँको राजीनामासँग हाम्रो आन्दोलनको कुनै साइनो छैन ।’ विद्यालय भर्ना अभियानका साथै सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारी आन्दोलनमा होमिदा शिक्षामा क्षतिको अवस्था नआउने भन्दै परीक्षा तयारीमा लागेका विद्यार्थीको परीक्षा रोकिँदा आफूपनि संवेदनशील रहेको बताए । ‘कक्षा १२ को परीक्षामा हप्ता–१० दिन विलम्व हुँदैमा त्यस्तो ठूलो क्षति हुँदैन । परीक्षा तयारी गरेका विद्यार्थीलाई परीक्षा रोकिँदा मनमा चोट पर्छ । त्योप्रति हामी संवेदनशील छौ’– उनले भने । उनले राज्यले यो अवस्थामा ल्याउन बाध्य पारेका भन्दै शैक्षिक क्षतिलाई पूरा गर्न विदाको समयमा पढाउने पनि बताए । ‘वास्तवमा कोही बढी दुखित छ भने शिक्षक–कर्मचारी नै छ । तर, राज्यले हामीलाई यो अवस्थामा ल्याउन बाध्य पार्यो । आन्दोलन ज्यादा लम्विदैन । राज्यले घुँडा टेक्न अनिवार्य छ । त्यो स्थिति सिर्जना भएपछि हामी फर्किन्छौ ।’ अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनका बिरुद्धमा अभिव्यक्ति आउनु दुःखद् भएको बताए । ‘विरुद्धमा अभिव्यक्ति आउनु भनेको आन्दोलनले पीडा दिएको हो भन्ने बुझिन्छ । अहिले बालुवाटारको ओछ्यान र कुर्सीमा काँडा उम्रिसक्यो । घोच्न थालेको छ । सिंहदरबारको कुर्सीमा पनि काँडा उम्रिसकेको छ । त्यसले घोच्न थालेपछि पीडा हुन्छ र सहमति गर्न बाध्य बनाउँछ’– उनको भनाइ थियो । २१ दिनदेखि शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएकी छिन् भने शिक्षक महासंघ र सरकारबीच पटक–पटक छलफल भए पनि आन्दोलन रोकिन सकेको छैन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्