काठमाडौं/,चैत १५ काठमाडौंको तीनकुनेमा राजावादीको समूहले गरेको प्रर्दशन अराजकतातर्फ उन्मुख भएको छ । राजादावी समूहले आगजनी, तोडफोड, लुटपाट सहितका गतिविधि गर्दै उदण्डता मच्चाएसंगै उनीहरुको आन्दोलन अराजकतातर्फ उन्मुख भएको हो । राजावादीहरुको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित ३० जना घाइते भएका छन् । प्रदर्शनका क्रममा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृहमन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । घाइते मर्हजनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेर मृत्यु भएको हो । तीनकुनेमा भएको आन्दोलनमा प्रहरीले शुरुमा अश्रुग्यास प्रहार गरेको थियो भने पछि रबरको गोली र हवाइ फायर पनि गरेको थियो । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जका प्राडा मोहनचन्द्र रेग्मीका अनुसार गोली लागेका पाँच जना घाइतेको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनले ती सबैको कम्मरमुनिको भागमा गोली लागेको र अवस्था स्थिर रहेको बताए । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार त्यहाँ पनि गोली लागेका दुई जना घाइतेको उपचार भइरहेको छ । तीमध्ये पेटमा गोली लागेका एक जनाको अवस्था भने चिन्ताजनक रहेको छ । उनको आकस्मिक शल्यक्रिया भइरहेको निर्देशक रिजालले बताए । ट्रमा रहेका अर्का एक जनाको भने कुममा गोली लागेको छ । ज्यू“दै जले पत्रकार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकारको मृत्यु भएको पाइएको छ । उक्त घरमा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एक जना पत्रकारले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । तर, प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन । उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर, जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो । यसअघि उक्त घरमा प्रदर्शनकारीले ढुंगा हानेर शिशा सबै फुटाइदिएका थिए । प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसे, जडीबुटी उत्पादन कम्पनीमा आगजनी प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए । प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट भएको थियो । समूहले तोडफोड र आगजनी गर्न शुरु गरेपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइन् । ‘साढे २ बजेतिर भित्र काम गरिरहेका थियौँ’– यादवले भनिन्– ‘अचानक बाहिरबाट ढुंगामुढा शुरु भयो । अफिसमा अगाडि सिसैसिसा छ । कसरी ज्यान जोगाएर बस्ने भन्ने भएरभित्र कोठामा बसेका थियौँ । बाहिर राखिएका गाडीमा आगजनी गर्न शुरु गरे ।’ मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडिपट्टि स्टोरबाट बाहिर भागेको यादवले जानकारी दिइन् । आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ । यता प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महंगा सामान लुटेका छन् । भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू शुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड शुरु गरेका थिए । भाटभटेनी व्यवस्थापनले प्रहरीलाई दिउँसो ३ः२८ बजे फोन गरेर सहयोग मागे पनि प्रहरी भने ३४ मिनेटपछि ‘प्रदर्शनकारीहरू एक दर्जन हुँदै डेढ सय हाराहारी आएर तोडफोड र लुटपाट मच्चाए’– भाटभटेनीका ती अधिकारीले भने– ‘प्रदर्शनकारीहरूले मोबाइल फोन, घडी, मदिरा, कपडा लगायत महँगा सामान लुटेर लगेका छन् ।’ त्यतिमात्र होइन, प्रदर्शनकारीहरूले फलफूल, तरकारी पनि लुटेका लगेका छन् । तोडफोड र लुटपाटबाट कति क्षति भयो भन्ने यकिन आकलन हुन बाँकी रहेको उनले बताए । ‘समयमै प्रहरी आएको भए यतिविधि लुटपाट र तोडफोड हुन पाउँथेन’– उनले भने– ‘भाटभटेनी तोडफोड र लुटपाटमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ र हामीलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।’ प्रदर्शन बिथोलिएपछि तितरबितर भएको समूह भाटभटेनी सुपर स्टोरका सुरक्षागार्डलाई हातपात गर्दै भित्र छिरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो । योसँगै प्रदर्शनकारीले दर्जनौ गाडी जलाएका छन् । तीनकुने क्षेत्रमा कफ्र्यु व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको छ । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कफ्र्यु लगाउने निर्णय गरिएको हो । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कफ्र्यु लगाउने निर्णय भएको हो । यो संगै राजसंस्थाको माग गर्दै दुर्गा प्रसाईंको नेतृत्वमा उत्रिएका प्रदर्शनकारीले ठाउँ–ठाउँमा आगजनी गर्नथालेपछि काठमाडौंमा सेना परिचालन गरिएको छ । तीनकुने, कोटेश्वर, जडीबुटी क्षेत्रमा प्रदर्शनले उग्र रूप लिएपछि काठमाडौं जिल्ला प्रशासनले कफ्र्यु लगाएसँगै सेना सडकमा परिचालित भएको हो । उडान प्रभावित, अन्तर्राष्ट्रिय जहाज आकाशमै होल्ड प्रदर्शनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू समेत केहीवेर प्रभावित भएका थिए । प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको थियो । प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो बालेका थिए । आगो विमानस्थल क्षेत्रभित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको थियो । जसका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको थियो भने आन्तरिक उडान राजावादीको … समेत प्रभावित बन्यो । अराजकता मच्चाइयोः गृह मन्त्रालय २०६१ भदौ १६ गतेजस्तै अराजकता मच्चाइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले यो इराक घटनाजस्तै भएको टिप्पणी गरेको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार यो भदौ १६ जस्तै प्रकृतिको घटना हो । भदौ १६ जस्तै प्रकृतिको घटना देखियो । २० वर्षपछि त्यस्तै देखियो । त्यसबेला अराजक समूह थियो । अहिले निश्चित उद्देश्य बोकेको समूह थियो । यो क्षतिको जिम्मेवारी आयोजकले लिनेछन्– उनले भने । गृह मन्त्रालयले राजावादी आन्दोलन राजनीतिक नभएर बिशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भन्दै अब सरकारले संयम नराख्ने प्रष्ट पारेको छ । शुक्रबारसाँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता छवि रिजालले कुनै पनि दृष्टिले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको दावी गरे । उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए । राजावादी आन्दोलनमा करिब १०देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरु दुर्गा प्रसाईंको नेतृत्वमा अराजनीतिक भीड भएको प्रवक्ताले बताए । सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राप्रपाको समेत साथ रहेको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक प्रसाई आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । त्यसक्रममा उनी ‘आओ–आओ’ भन्दै गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा समेत देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए । उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाई समेत अश्लील गाली गरेका थिए । प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर, उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए । निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडियोमा देखिन्छ । सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ–ठाउँमा तोडफोड र आगजनी समेत भएको थियो ।
राजावादीको काठमाडौं तीनकुनेमा अराजक प्रदर्शन,सडकमा सेना,








