काठमाडौँ / ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा जारी विवाद सुल्झाउन आज मंगलवार पनि वार्ता जारी छ।विहान ११ बजेदेखि सुरु भएको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन। सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले अहिले पनि वार्ता जारी रहेको र निष्कर्ष निकाल्ने प्रयास जारी रहेको थाहाखबरलाई बताए। हिजोको वार्तामा आन्दोलनरत पक्षले केबलकार निर्माण तत्काल स्थगित हुनुपर्ने, पक्राउ परेकालाई छाड्नुपर्ने लगायतका माग राखेको थियो। सरकारी वार्ता टोलीले उक्त माग सम्बोधन नगरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन। गृह मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा सरकारले शनिवार वार्ता टोली गठन गरेको हो। त्यसपछि आन्दोलनरत पक्षले सोमवार प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति बनाएको थियो। पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै ‘नो केबलकार’ पक्षधरले पूर्वका ९ जिल्लामा तीन दिनदेखि बन्द गरिरहेका छन्। उनीहरूले सोमवार काठमाडौँमा समेत गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रदर्शन गरेका थिए। पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले केवलकार निर्माण तत्काल रोक्नुपर्ने अडानबाट पछि नहट्ने प्रतिक्रिया दिए। उनले रोजगारी, शेयर वा पैसा कुनै पनि विकल्पको प्रलोभनमा आफूहरू नपर्ने बताए । साभार/ रेडियो तमोर
‘पाथीभरामा नो केबलकार’ पक्ष र सरकारबीच विहान ११ बजेदेखि वार्ता जारी,








